पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
काठमाडौ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । आगामी भदौ २८ गते हुने अवार्डका लागि कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ, क्रिकेटका गुल्सन झा र फुटबलकी प्रीति राई मनोनयनमा परेका छन् । खेलक्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ । मानमतीले १९ औं एशियाली खेलकुदमा नेपाललाई काँस्य पदक दिलाउन महत्वपूर्ण भुमिका खेलेकी थिइन् । गत महिना सम्पन्न काभा महिला भलिबलमा उपविजेता र सन् २०२३ को संस्करणमा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कविता टोलीकी सदस्य हुन् । रग्वीका श्रीराम १९ औं हाङझाउ एशियाली खेलकुद खेल्दाको टिमका मुख्य खेलाडी हुन् । गुल्सन नेपालले गत ट्वान्टी–२० विश्वकप खेल्दा टोलीका महत्वपूर्ण सदस्य हुन् । १६ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी प्रीतिले साउदी अरेबियामा सम्पन्न आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । मनोनयनमा पर्ने पाँचै खेलाडीले इसेवा केयर प्रडक्ट पाउने छन् । यस वर्ष कूल ९ विधामा अवार्ड प्रदान गरिने र वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने जनाइएको छ । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया