सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलित

काठमाडौं । सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।

शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले जीवनबीमाको माग गर्दै आन्दोलन गरेको हो ।

उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताए । संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझै सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरुको माग रहेको बताए । 

आफूहरुलाई महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुपर्ने पनि माग अघि सारेका छन् । संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको बताएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताए । 

उनीहरुले सरकारको विभिन्न निकायहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको समस्याहरु समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए । लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरुलाई राख्ने उद्देश्यले हटाइएको उनीहरुको आरोप छ ।
 

प्रतिक्रिया