इच्छा नभएर पनि पार्टीको नेतृत्व छोडिहाल्ने पक्षमा छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले आफ्नो इच्छा नभएर पनि नेतृत्व छोडिहाल्ने पक्षमा नरहेको बताएका छन् । वाग्मती प्रदेशस्तरीय दुईदिने परामर्श बैठकको समापनमा उनले आफू नेतृत्वमा रहिरहन इच्छुक नभए पनि तत्काल छोड्ने पक्षमा पनि नरहेको बताएका हुन् । 
उनले नेतृत्व गरेको ३६ वर्ष युद्ध र युद्धपछि पनि उथलपुथलमा गुज्रिएको भन्दै जनार्दन शर्माका प्रश्न स्वाभाविक भएको पनि बताए । 

“३६ वर्षदेखि निरन्तर नेतृत्वमा छु । मेरो नेतृत्व आनन्ददायी रहे, आँधिमय रह्यो,” अध्यक्ष प्रचण्डले भने, “युद्धभन्दा बाहेक पनि उथलपुथलमय नेतृत्व गरेँ । प्रचण्डलाई प्रभाकरले यसो भने पनि प्रचण्ड अध्यक्षभन्दा माथि छ ।” आफूमाथिका गम्भीर टिप्पणीलाई स्वभाविक स्वीकार गरेका उनले आफू इच्छा नभएर पनि नेतृत्व छोडिहाल्ने पक्षमा नरहेको बताए । 

“म एकैपटक स्वाट्टै नेतृत्व छोड्न चाहन्न,” प्रचण्डले भने, “पहिला सिस्टम र सेट बनाएर मात्रै नेतृत्व छोड्न उपयुक्त होला ।” 

प्रचण्डले बाहिरका साथीहरूले नेतृत्व नछाड्न आफूलाई आग्रह गरेको बताएका छन् । तर, त्यो बाहिर भनेको अन्य दलका नेताहरू हुन् वा देश बाहिरका हुन् भन्ने उनले स्पष्ट पारेनन् । 

मृत्यु शय्यामा घ्यारघ्यार गर्दा पनि नेतृत्व गरिराख्ने कुरा उचित होइन भन्दै उनले मृत्यु शय्यामा पुग्दासम्म नेतृत्वमा नबस्ने बताए ।
 

प्रतिक्रिया