कालीगण्डकी करिडोरको पहिरोले यात्रुलाई सास्ती

बागलुङ । सडकको ट्रयाक बगाएपछि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पटकपटक अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ । 

उक्त खण्डको दब्ल्याङमा पहिरो जाँदा दुई महिनायता करिडोरका यात्रीलाई गन्तव्यसम्म पुग्न सास्ती हुँदै आएको हो । पटकपटक अवरुद्ध हुँदै आएको करिडोरको बागलुङ खण्ड पाँच दिनदेखि पुनः ठप्प भएको छ ।

लगातारको वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा करिडोर अन्तर्गत ट्र्याक बगाउँदा पाँच दिनदेखि सवारीसाधन गुड्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त खण्डसँगै बलेवा कुश्मिसेरा जाने शाखा सडकसमेत अवरुद्ध हुँदा पाँच दिनदेखि बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । 

यही, भदौ २ गते रातिको पहिरोले सडकमा थप क्षति पुर्‍याएकामा ३ गते सडक सञ्चालनमा ल्याउने प्रयास असफल भएपछि उक्त खण्ड अहिलेसम्म पूर्ण रुपमा ठप्प भएको उनले बताए  । 

दब्ल्याङमा सडकको ट्र्याक करिब ४० मिटर बगाएको छ । उक्त पहिरोमा माटो पुरेर सडक खुलाइए पनि पानीपर्दा सडक अवरुद्ध हुने भएकाले दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक यादवले जोड दिए । 
 

प्रतिक्रिया