पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

फाइल तस्बिर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भारतको गुजरातमा आयोजना हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । 

मन्त्री पाण्डे गुजरतामा हुने तीन दिने आठौँ ‘धर्म–धम्म’ सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्। 

भारत फाउण्डेशनको पहल एवं गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताबीच निकट रहेका विचारमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा नेपालसहित भूटान र श्रीलङ्कालगायत देशका मन्त्रीहरूका सहभागिता रहने जनाइएको छ । 

 यसपटकको ‘धर्म–धम्म’ सम्मलेनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौं देखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको ‘धर्म–धम्म’ बीचको साझा विचारलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

 सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि ‘धर्म–धम्म’ परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ । 

प्रतिक्रिया