शेयर बजारलाई परिपक्व,अनुशाशित र दिगो ढङ्गले विकसित गर्ने सरकारको दृष्टिकोण छः अर्थमन्त्री पौडेल

फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीबजारमा एक जनाको मात्रै एकाधिकार रहन नदिने बताए । 

धितोपत्र सम्बन्धि पहिलो संशोधन विधेयक, २०८१ का विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउएका हुन् । अर्थमन्त्री पौडेलले पुँजीबजारमा ६४ लाख बढीले डिम्याट खाता र दोस्रो बजारमा २२ लाख बढी लगानीकर्ताले धितोपत्रको कारोबार गर्ने गरेको भन्दै एक जनाको एकाधिकार रहने अवस्था नभएको स्पष्ट पारे ।

 उनले यदि एक वा कुनै समूहको एकाधिकार भएपनि सरकारले त्यस्तो गर्न नदिने धारणा राखे  । उनले  शेयर बजारमा नक्कली कारोबार हुन नदिने बताए। अर्थमन्त्री पौडेलले सरकारले शेयर बजारलाई परिपक्व,अनुशासित र दिगो ढङ्गले विकसित गर्ने दृष्टिकोणका साथ काम गरिरहेको बताए ।

 उनले शेयर बजारमा कुनैपनि प्रकारका अवाञ्छित क्रियाकलाप,कर्नर र इन्साइडर टेडिङ हुन नदिने र विभिन्न प्रकारका सामाजिक सञ्जालमा गु्रपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम पार्न नदिने विषयमा सरकारले ध्यान दिएको उल्लेख गरे। 

अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिस समितिले सिफारिस गरे बमोजिम नियुक्ति हुने कानूनी व्यवस्था भएको भन्दै कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर व्यक्ति अक्ष्यक्ष हुन नसक्ने बताए । उनले बोर्डको अध्यक्ष नियुक्ति सरकारले नेपाल धितोपत्र बोर्ड ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुने बताए । 

उनले सरकारलाई अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने भन्दै मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक नभएको बताए । उनले बोर्डको अध्यक्ष नियुक्तिको निर्णय प्रक्रिया पारदर्शी र स्वच्छ ढङ्गले हुने जानकारी दिए ।  अर्थमन्त्री पौडेलले बिहीवार प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत गरे । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र धितोपत्र सम्बन्धी ऐनको संशोधन विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरे । 

प्रतिक्रिया