भारतमा विद्युत निर्यातका लागि कार्य योजना तयार छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यातका लागि मार्गचित्र तथा कार्ययोजना तयार रहेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद नारायणप्रकाश साउदले ;साेधेकाे प्रश्नको जवाफ दिँदै उनले भारतमा विद्युत् निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबमोजिम ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० तयार पारेको बताए । 

प्रधानमन्त्रीले उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/९२ सम्म करिब १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिका लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यात गरिने उल्लेख रहेको बताए ।  

साथै सो अवधिसम्म नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य लिइएको र उक्त मार्गचित्र तथा कार्ययोजना मन्त्रिपरिषदमा  पेस भइसकेको उनले बताए । 

हाल नेपालको कूल विद्युत् उत्पादन क्षमता करिब तीन हजार दुई सय ४० मेगावाट पुगेको र आव २०९०/९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उनले जनकारी दिए । 

कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाबाट पाँच हजार आठ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाबाट तीन हजार दुई सय पाँच मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाबाट तीन हजार एक सय आठ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण छ । 
 

प्रतिक्रिया