प्रतिनिधिसभामा सडक मर्मत सम्भार कोष स्थापना गर्न सांसदहरुकाे माग

काठमाडौं । सांसदहरुले तीनै तहको सरकारको समन्वय र सहकार्यमा वर्षात् अगावै राजमार्ग एवम् स्थानीय  सडक मर्मत गर्न सुझाव दिएका छन् । 

 प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले वर्षात्का समयमा विशेषगरी ग्रामीण क्षेत्रका सडकमा यात्रा गर्न जोखिम हुने तर्फ सदन मार्फत सरकारको ध्यानाकर्षण गराए । 

 बैठकमा सांसद नारायणप्रसाद आचार्यले तीनै तहको सरकारको समन्वयन र सहकार्यमा सडक मर्मत सम्भार कोष बनाई सहज यातायात व्यवस्था गर्न माग गरे। उनले वर्षात् समयमा बाढीपहिरो र सडक दुर्घटनाबाट जनधनको क्षतिबारे उल्लेख गर्दै सडक मापदण्ड बनाइ कार्यान्वयनको लागि समेत सरकारको ध्यानार्कषण गराए । 

 सांसद ठाकुरप्रसाद गैरेले मनसुनको समयमा हुने क्षतिको एकीन गर्न अध्ययन गर्नुपर्ने बताए  । उनले मानवीय, भौतिक र जलवायु परिवर्तन जस्ता विभिन्न कारणबारे अध्ययन गर्दै सम्भावित जोखिम न्यूनीकरणमा ध्यान दिन आग्रह गरे   । सांसद देवेन्द्र पौडेलले बागलुङ जिल्लाका विभिन्न स्थानमा प्राकृतिक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै राज्यका तर्फबाट हुने उचित व्यवस्थापन नपुगेको बताए । 

उनले बागलुङसँगै देशभर बाढीपहिरोबाट विस्थापितलाई तत्काल बसोबास र खाद्यान्न उपलब्ध गराउन माग गरे। सांसद नागिना यादवले विपद् व्यवस्थापनमा सरकारको प्रयास जनताले महसुस गर्न नसकेको बताए । सरकारले उपलब्ध गराउने राहत सबै उपलब्ध नभएको उन भनाइ छ ।

प्रतिक्रिया