समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए । 

नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रुपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । 

द्वन्द्व पीडितलाई न्याय दिन हरसम्भव प्रयास गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै नेता सिटौलाले सङ्क्रमणकालीन न्यायलाई निरुपण गर्न गठित आयोगको कामकारबाहीलाई प्रभावकारी बनाइनुपर्ने बताए । 

 बाह्रबुँदे सम्झौताबाट सुरु भएको राजनीतिक ‘कोर्स’का आधारमा तत्कालीन अवस्थामा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत नै नेपालको आगामी राजनीतिक परिदृश्य कोरिएको उनले स्मरण गरे  । विसं २००७ को क्रान्तिमा उठेको संविधानसभाद्वारा संविधान जारी गर्ने माग माओवादी आन्दोलनबाट पूरा भएको उल्लेख गर्दै उनले राजनीतिक दलले गरेको प्रतिबद्धताबाट दायाँबायाँ हुन नहुने बताए । 
 

प्रतिक्रिया