राष्ट्रियसभा : त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले प्राज्ञिक थलोका रुपमा रहेको विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमणको धम्की आउनुले मुलुकको सुरक्षा व्यवस्थाप्रति नै प्रश्न उब्जाएको बताए । 

सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग बाढी पहिराका कारण अवरुद्ध भएकाले तत्काल सो राजमार्ग मर्मतसम्भार गरी यातायात सञ्चालनको व्यवस्था मिलाउन माग गरे । सांसद नारायणदत्त मिश्रले तीन दिनदेखिको अविरल वर्षाले कैलालीमा बाढी र डुबानका कारण करिब पाँच सय परिवार प्रभावित भएको जनाउँदै प्रभावितको उद्धारमा ध्यान दिन सरकारसँग माग गरे । 
 
सांसद मदनकुमारी शाह (गरिमा) ले प्रकृतिमाथि अत्यधिक दोहन गर्दा बाढी, पहिरालगायत घटना बढ्न थालेको उल्लेख गर्दै प्राकृतिक विपत्तिका घटना न्यूनीकरणका लागि रुलिङको माग गरिन् । सांसद कमला पन्तले देशभर डेङ्गु सङ्क्रमण र हैजा फैलनुको कारण पत्ता लगाएर जवाफ दिन सरकारलाई रुलिङ गर्न माग गरिन्  । सांसद राजेन्द्रलक्ष्मी गैरेले महिला हिंसाको घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन माग गरिन् । 
 
सांसद उर्मिला अर्यालले हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज आउँदै गर्दा सडक दुर्घटनामा परेर मृत्यु भएको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणका विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन् ।  सांसद भुवनबहादुर सुनारले चाडपर्वलाई लक्षित गरेर सडक दुर्घटना न्यूनीकरणका योजना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको कालोबजारी, मिसावट र कृत्रिम अभाव हुन थालेको जनाउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए  । सांसद महम्मद खालिदले कमला पुल पुनःनिर्माणको माग गर्दै अनशनरत युवाका स्वास्थ्य जटिल बन्दै गइरहेको जनाउँदै तत्काल माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया