आरजु राणाले पाएको मोदी दर्शनको  सन्देश !!!

परराष्ट्रमन्त्री आरजु राणाले पाएको मोदी दर्शनको सेरोफेरो भित्र भविष्यको सरकारको छायाँ देखिन थालेको चर्चा चुलिन थालेको छ ।

सबैतिर अकल्पनीय भेटघाटको तरंग छरेर भ्रमित पार्न खोजिएको छ आरजु देउवाको भारत उपचार यात्रालाई । उतैको योजनामा यताको पात्र परिवर्तन बाहेक अरू सबै भ्रमको खेती हो। चाणक्य नितीको बिकसित रूप हो भारतको मोदी कुटनीति । राजनीतिलाई तन्त्र नीतिले नेतृत्व गरेको सफल कार्यकाल बिताएका मोदीको नेपाल ध्वस्त पार्ने तन्त्रनीतिको पछिल्लो उदाहरण हो आरजु सम्मान । मोदीको बनिबनाउ तन्त्रनीति बोकेर हतार हतार नेपाल छिर्छन भारतका विदेश सचिव बिक्रम  मिश्री।मिश्रीसँग भेटघाटका लागि मरिहत्ते गर्ने नेपाली राजनीतिका राजघरानाले उनको स्वागतमा खर्चेको समय जस्तै उता मोदीले आरजु स्वागतमा मिल्दोजुल्दो भाव प्रदर्शन गर्छन। यताका पातलो पत्रकारितामा अवसर खोज्नेहरूले परराष्ट्रमन्त्रीको उपचार यात्राको सरकार प्रमुखको स्टेट भिजिट जस्तैगरी सार्वजनिक गर्छन्। यो सबै तारतम्य साउथ ब्लकले उतै सेटिङ गरेको सुईको सम्म पाएनन् हाम्रा दलीय हिजवुल्लाहरूले ।

भारत जस्तो  देशले आरजुलाई महत्वका साथ भेटघाट गर्नुको पछाडिको गुह्य कुरो ओझेलमा परेको छ। इन्दिरा गान्धीले तत्कालीन राजा महेन्द्रलाई भेटघाटको लागि बोलाएर नेपाल भारतमा गाभ्ने प्रस्ताव गरेको किंबदन्तीलाई बिर्सन हुँदैन। भारत नेपालमा आफूअनुकूलको राजनीति चाहन्छ ।

नेपालको राजनीतिमा अस्थिरता निम्त्याउनु नै भारतको पहिलो प्राथमिकता हो । अस्थिर सरकार र भ्रष्ट कर्मचारी तन्त्रको उद्गम स्थलनै दिल्ली हो । भारतको हण्डी खाने नेता र भारत बाटै तलब सुविधा बुझ्ने नेपाल सरकारका कर्मचारी यो देशका देशद्रोही हुन् । यीनै बैरीका हनुमान हरूको भूमिकाले नेपालका एक से एक उद्योग,कलकारखाना ध्वस्त पारियो। भारतीय ग्राण्ड डिजाईनमा बन्द भएका गोरखकाली रबर उद्योग देखि बुटवल धागो कारखानासम्म ट्रली बसदेखि चिया बगानसम्म साउथ ब्लकको निर्देशनमा यताका पेड कर्मचारीको कोपभाजनमा परेको यथार्थ कसैबाट लुकेको छैन। अब भारतलाई चाहिएको छ पानी । भारतमा पानी संकटको संकेत पाएको साउथ ब्लकले नेपालको पानीमा आँखा गाडेको अहिले देखि होईन। हो,त्यहि संकट समाधानका लागि दिल्ली दरवार यतिखेर नेपालमा आफू अनुकूलको सरकार बनाउने षडयन्त्रमा मरेर लागेको छ । पानीको राजनीतिक महत्व नबुझ्ने आरजु देउवा भारतको लागि अहिले सबैभन्दा उपयुक्त पात्र हुन।पात्र छनोटको आमन्त्रणमा सरिक हुन पुगेकी आरजुको स्वागत सत्कारले सि इज नेक्स्ट पिएम भन्ने भाष्य निर्माण गर्न खोज्दैछ भारत ।

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै हो आरजुलाई भारतको सत्कार । राष्ट्रिय एजेण्डा के हो? र सार्वभौम राष्ट्रको स्वाभीमान कति महत्वपूर्ण हुन्छ ? बिचरा ब्यक्तिगत स्वार्थ बचाउका लागि बनाईएकी परराष्ट्रमन्त्री राणालाई के थाहा । नितान्त रकम र हुकुमको सतहबाट देउवा हुन पुगेकी आरजु राणा कुनै दिन लेण्डुप दोर्जेको उपमा बाट विभुषित भईन भने आश्चर्य नमान्दा हुन्छ । भारतीय षडयन्त्रको संकेत अहिले यतातिर उन्मुख भएको देखिन्छ।

आरजु राणाको स्वदेश आगमनपछि के के गर्ने ? तारतम्यको खाका आरजुले आफै लिएर आएकी छन्। ठूला–ठूला  अक्षरमा आरजु माहत्म्यको कथा समाचार माध्यमको प्राथमिकतामा यो हप्ताभरी छ्याप छ्याप्ती देख्न सुन्न पाईन्छ । कस्तो रह्यो तपाईको भ्रमण ?ठूलो सम्मान पाउनुभो त ? के के भए त उपलब्धी? यस्तै यस्तै प्रश्नको झोला बोकेर पुग्छन् पत्रकार बिमानस्थल । दुई देशबीचको सम्बन्ध लाई अझ सुदृढीकरण गर्ने विषयमा छलफल भयो। हो,यही आसयको जवाफ हो परराष्ट्रमन्त्रीले प्रेसमा दिने अभिव्यक्ति।गोप्य मन्त्रणाको पोको त आरजुले घरपुगेर शेरबहादुरजीलाई साक्षी राखेर खोल्ने छिन्।

त्यो पोकोको कोसेली कुन तहको रहेछ भन्ने कुराको केही दिनपछि मात्र छनक आउन थाल्छ । लैनचौर र बुढानिलकण्ठको दुरी पार गर्न लाग्ने समयले निर्धारण गर्नेछ । आरजुको कोसेली पस्कने साईत।आशा गरौ आरजु राणा देउवाले लम्पसार वादलाई दिल्लीमै छाडेर आउनुभएको छ । त्यो लम्पसारवाद त्वम शरणम् मा परिणत नहोस।
 

प्रतिक्रिया