राष्ट्रियसभाः कमला नदीमा तत्काल अर्को पुल निर्माण गर्न सांसद दाहालकाे ध्यानाकर्षण

काठमाडौ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसद तुलसाकुमारी दाहालले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहाको दक्षिणी सिमनामा कमला नदीमा बन्दै गरेको पुल भासिएकाले सोही स्थानमा अर्को नयाँ पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । 

आजको बैठकको आकस्मिक समयमा सांसद दाहालले निर्माणाधीन पुल भासिएको घटनाको अनुसन्धान गर्न पनि सरकारसँग आग्रह गरिन् ।  निर्माणाधीन पुल भासिँदा सो क्षेत्रका २० लाख नागरिकले सास्ती पाइरहेका उनले  उल्लेख गरिन् ।

तीस किलोमिटरको दूरी पार गर्न अर्को एक सय किलोमिटर हिँड्नुपर्ने वा भारतीय सीमाना हुँदै आउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सांसद दाहालले कमला नदीमा निर्माणाधीन पुल भासिएकाले सोको छानबिन गर्न माग गरिन् । कमला नदीमा पुल बनाउन २०६८ साल मङ्सिरमा पप्पु लुम्बिनी बिल्डर्स र जेभी कन्स्ट्रक्सनसँग रु २४ करोड ९१ लाखको ठेक्का सम्झौता भएको उनले जनाकारी लिइन् । 

कमला नदीमा चार सय ७० मिटर लामो र ११ मिटर चौडा पुल साढे तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको उल्लेख गर्दै सांसद दाहालले समय थप्दै लगेर १० वर्षसम्म निर्माण हुन नसकेको समेत जानकारी गराइन् । स्थानीय जनताको विरोधपछि मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र दिइएको उल्लेख गर्दै उनले पुल निर्माण नहुनुका कारणसहित स्पष्टीकरणसमेत सोधिएको बताइन् । 

जनताको विरोधपछि हुलाकी सडक निर्देशनालयले जेभी कन्स्ट्रक्सनलाई हटाएर ठेक्काको सम्झौता लुम्बिनी कन्स्ट्रक्सनलाई दिएको बताउँदै सांसद दाहालले भनिन् ।  

पुल निर्माणका लागि गरिएको डिजाइन नै त्रुटिपूर्ण रहेको उल्लेख गर्दै सांसद दाहालले सोको छानबिन कसले गर्ने भनी प्रश्न गरिन् ।

प्रतिक्रिया