बाढी पहिराले तनहुँका ग्रामीण सडक अवरुद्ध
दमौली । बाढीपहिरोका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
ऋषिङ गाउँपालिका–५ लाग्नेचौतारीदेखि राम्जाकोटसम्म पुग्ने बाटो आज पहिरोले अवरुद्ध भएपछि सर्वसाधारणलाई सास्ती भएको स्थानीय पूर्णिमा क्षेत्रीले बताए ।
बाटो अवरुद्ध भएपछि विशेषगरी बिरामीलाई स्वास्थ्य संस्था र विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न कठिन भएको उनले जानकारी दिए ।
भिमाद नगरपालिका–८ भावर जरेवारमार्ग अन्तर्गत सिम्ले टोलमा वर्षाका कारण बुधबार सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ ।
भिमाद–५ स्थित वानटाङ खोलामा आएको बाढीले कजवे भत्किँदा दुई दिनदेखि सडक अवरुद्ध छ । खोलामा आएको बाढीले मङ्गलबार कजवे भत्किँदा भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न ठाउँमा जाने सडक अवरुद्ध भएको हो ।
खोलामा आएको बाढीले कजवे भत्किँदा सवारी साधन सञ्चालन हुन नसकेको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया