डुबानबाट कैलालीका पाँच सय घर प्रभावित

सुदूरपश्चिम । दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् । 

जिल्लामा बिहीबार बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 

 डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ । डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ । कटैनी, शिवगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो ।

 डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात बिताएका छन् । डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ ।  

प्रतिक्रिया