पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

 काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत मुग्लिन–पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउने प्रयास जारी रहेको छ । बिहीबार बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको हो । 

सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् । पहिरो ठूलो भएकाले पूरै पन्छाउन बिहीबार दिनभरी लाग्ने अनुमान प्रहरीले गरेको छ । बुधबारदेखि तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहाड नै भत्केर सडकमा झरेपछि यातायात अबरुद्ध रहेको छ । 

ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको छ । पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग–अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ । 

साना तथा मझौला सवारी साधनहरुलाई दमौलीतर्फबाट आउनु परेमा तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किन प्रहरीले भनेको हो । यसैगरी घाँसीकुवातर्फबाट दमौलीतर्फ जानु परेमा घाँसीकुवा, पोल्याड, रानीगाउँ हुँदै तालघरे निस्किन सकिने बताइएको छ । ठूला सवारी साधनहरुलाई भने डुम्रे–बेसीशहर सडकखण्ड प्रयोग गर्न भनिएको छ । 
 

प्रतिक्रिया