रुस–चीन साझेदारीले परिणाम दिँदैछ  : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग रुसको आर्थिक तथा व्यापारिक सम्बन्धले ‘परिणाम दिइरहेको’ बताएका छन् । क्रेमलिनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई स्वागत गर्दै उनले व्यापारिक सम्बन्ध सफलतापूर्वक विकसित भइरहेको बताएका हुन् । 

दुवैतिरका सरकारले व्यापार र आर्थिक सम्बन्धमा ध्यान दिइरहेकाले परिणाम प्राप्त भैरहेको भन्दै राष्ट्रपति पुटिनले आर्थिक र मानवीय क्षेत्रमा ठूलो मात्रामा संयुक्त आयोजना, परियोजनाहरूमा मिलेर काम गरिरहेको उल्लेख गरेका छन् । 

युक्रेन द्वन्द्व सुरु भएयता मस्कोले बेइजिङलाई आर्थिक जीवनरेखाका रूपमा हेरेको छ । रुसले पश्चिमी मुलुकहरूबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको यस अवधिमा दुवै मुलुकबीचको व्यापार उच्चस्तरमा पुगेको छ । यसैबीच चीनले सस्तो रुसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीलगायत विशाल प्राकृतिक स्रोतहरूमा पहुँचबाट लाभ हासिल गरेको अनतर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  

सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभन्दा केही दिनअघि बेइजिङ र मस्कोले ‘कुनै सीमा नभएको’ साझेदारीको घोषणा गरेका थिए ।

प्रतिक्रिया