इजरायललाई गाजा युद्धविराममा सहमत हुन अमेरिकाको दबाब

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धविराममा सहमत हुन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई दबाब दिएका छन् । 

राष्ट्रपति बाइडेनले नेतन्याहुलाई टेलिफोन गरेर बन्धक रिहाइका लागि युद्धविराम सहमतिमा पुग्नु अत्यावश्यक रहेकोमा जोड दिएका हुन् । युद्धविरामका लागि सहमित जुटाउन मध्यपूर्वको भ्रमण सकेर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन स्वेदश फर्के लगत्तै बाइडन र नेतन्याहुबीच टेलिफोनमा कुराकानी भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले आगामी साता कायरोमा हुने युद्धविराम तथा बन्धक रिहाइसम्बन्धी वार्ता महत्वपूर्ण हुनेपनि बताएका छन् । अर्को पक्ष हमासले भने इजरायलले नयाँ शर्त अघि सारेका कारण वार्तामा सहमति हुन नसकेको आरोप लगाएको छ । उता इजरायली सेनाले नयाँ आदेश जारी गरेपछि हजारौं प्यालेस्टिनीले देइर अल–बालाह शहर छाडेका हुन् ।  

पछिल्लो समय उत्तरी गाजाको एक अर्को विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा आश्रय लिइरहेका कम्तिमा चार जना प्यालेष्टिनीको मृत्यु भएको छ । गाजामा इजरायली हवाई आक्रमणमा गत २४ घण्टामा कम्तिमा ५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली आक्रमणमा गाजामा अहिलेसम्म ४० हजारभन्दाबढी प्यालेष्टिनीको मृत्यु भैसकेको छ । ९० हजारभन्दा बढी घाइते भएको समाचारमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया