राज्यका निर्देशक सिद्धान्त समितिले क्यालेण्डर बनाएर समिति बैठक सञ्चालन गर्छः सभापति गैरे
काठमाडाै । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले समितिको कार्ययोजना र क्यालेण्डर बनाएर बैठक सञ्चालन गर्ने भएको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिकोे बैठकले सदस्यहरुलाई कार्ययोजनामा राख्ने विषयको सुझाव माग गरेको छ । साथै बैठकमा बैठक सञ्चालन कार्यविधि छलफलको लागि प्रश्तुत गरिएको छ । समितिले आगामी बैठकबाट कार्यविधि सहितको कार्ययोजना पास गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताए । समितिका सदस्यहरुलाई कार्यविधिबारे आगामी १४ गतेअघि नै सुझाव दिन भनिएको छ । संविधानको भाग ४ मा ४ वटा राज्यका निर्देशक सिद्धान्त, १३ वटा राज्यका नीतिहरु र एउटा राज्यको दायित्व उल्लेख गरिएको छ ।
देशका सम्पूर्ण अंगहरुमा निर्देशक सिद्धान्त, नीति र दायित्व लागू हुने र त्यस बमोजिम आफ्ना कामहरु गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको सभापति गैरेले बताए । समितिले कार्यविधि तय गरेर कामका क्षेत्रहरुलाई प्राथमिकीकरण गर्ने र राज्यका सबै अंगहरुमा राज्यको निर्देशक सिद्धान्त, नीति, दायित्व बमोजिम कामहरु भए/नभएको अनुगमन गर्ने बताए ।
सभापति गैरेले सबै क्षेत्रमा केन्द्रित भएर परिणामुखी निस्कर्ष निकाल्नेगरी काम गर्ने बताए । संविधानले अभिव्यक्त गरेको देश र जनताको हितको पक्षमा संविधान प्रदत्त जनताका अधिकारहरु संविधान बमोजिम कार्यान्वयन हुनुपर्ने र कार्यान्वयन गर्नका लागि समितिले निर्देशन दिने बताए । समितिको सभापति चयन भए पछिको यो पहिलो बैठक हो ।
प्रतिक्रिया