सहकारी ठगहरुको सम्पती राज्यले तत्काल कब्जा गर्नुपर्छ : राष्ट्रियसभा सांसदहरु

काठमाडौं ।  राष्ट्रिय सभाका सांसदहरुले सहकारी ठगीमा संलग्नहरुलाई तत्काल कारबाही हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सदाचारको पक्षमा नउभिने कुनैपनि संस्थामाथि कडा कारबाही हुनेगरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरुको सम्पती जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले गरिवको पैसामा मोज गर्ने ठगहरुलाई तत्काल कडा कानून बनाएर कारबाही गर्ने काममा ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।  

प्रतिपक्ष नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले सदाचार नीतिलाई लागू गर्दै मुलुकमा विद्यमान भ्रष्टाचार लगायत अनैतिक कामहरुको अन्त्य गर्ने काममा सरकार र संसद दुवैले जोड दिनुपर्ने आवश्यकता औंल्याए  । उनले नयाँ पुस्तालाई सदाचारको नीतिअनुसार अघि बढाउन नसकेको मुलुकको विकास र समृद्धि सम्भव नहुने समेत स्पष्ट पारे । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका सांसद वामदेव गौतमले सरकारले सदाचार नीति लागू नगर्ने कुनैपनि निकायमाथि कडा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताए  । उनले विद्यालयमा सदाचार नीति नभए अनुदान नदिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए । 

सांसद गौतमले सहकारी संस्थाहरुल ऋण प्रवाह गर्न नपाउने व्यवस्था पनि सरकारले गर्नुपर्ने आवश्यकता औंल्याए । 

 

प्रतिक्रिया