निजी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्दा उत्साहित छौँ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताले उत्साहित बनाएको बताएका छन् ।
बुधबार सरकार,नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए । उनले सरकारले निजी क्षेत्रलाई महत्व दिएको महशुस भएको बताए । उनले अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने विषय सकारात्मक रहेको उल्लेख गरे ।
उनले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रश्तावमा एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनैपनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या निकै कम हुने र आर्थिक वृद्धिमै असर पर्ने उल्लेख गरे । उनले सरकारले बजेटमा नै स्टार्टअपका विषयमा कार्यक्रम राख्न शुरु भएको करिव एक दशक पछि स्टार्टअप परिभाषित भएको भन्दै प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवाहरुसम्म यो रकम पुग्ने विश्वास रहेको बताए ।
उनले सरकारले यस पटकको बजेटमा एक अर्ब २५ करोड रुपैयाँ स्टार्टअपलाई अनुदान प्रदान गर्न छुट्याएको बताए । उनले युवाहरुलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरु स्थापना गर्नुपर्ने भन्दै त्यसको शुरुवातका रुपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया शुरु गरेको बताए । उनले महासंघको ७७ वटै जिल्ला र नगर समेत गर्दा १२३ स्थानमा प्रतिनिधित्व भएका कारण संघीय र प्रदेश सरकारहरुसँग सहकार्य गर्न पनि आग्रह गरे ।
उनले निजी क्षेत्रलाई सरकारले प्रवद्धन गर्न नसक्दा युवाहरु पलायन भएको बताए । उनले नेपालमा ६५ प्रतिशत जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहका भएपनि निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिनसक्ने मध्यपूर्व र मलेसियामा काम खोज्न गएको बताए ।
प्रतिक्रिया