पाल्पामा समलिङ्गी बिवाहले पायो कानूनी मान्यता

पाल्पा ।  पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी बिवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी बिवाहले मान्यता पाएको छ । 

रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले  बिवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा  बिवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताए। समलिङ्गी बिवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार  बिवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिए । 

चिनाकुमारी रामपुर–९ जब्गादी निवासी र ज्योति नवलपुर (नवलपरासी सुस्तापूर्व) बौदिकाली गाउँपालिका–१ मिथुकरम निवासी हुन्  । चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ गते परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा  बिवाह गरेका थिए । 

वडा कार्यालयमा  बिवाह दर्ता गरेपछि मात्रै कानुनी रूपमै उनीहरु बिवाह बन्धनमा बाँधिएका हुन् ।. । उनीहरु  दुवै जना महिला हुन् । चिनाकुमारी र ज्योति लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए  ।  बिवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । दुवै जना वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । 

रासस 
 

प्रतिक्रिया