एमालेले हटायो कार्यकारी पदमा निर्वाचित हुन सत्तरी वर्षको उमेर हद

पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन

amale

नेकपा एमालेले अन्तरपार्टी निर्देशन ‘अपानि’ जारी गरेको छ । वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा निर्णय समेट्दै एमाले अध्यक्ष ओलीले सातौ अन्तरपार्टी निर्देशन जारी गरेका हुन । निर्देशनमा केन्द्रीय कमिटीको उम्मेदवार बन्न राखेको ७० वर्षे उमेर हद हटाइएको उल्लेख छ । वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठक र जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउने निर्णय लिएको हो । पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने, एमालेले तल्लो तहमा पठाएको अन्तर पार्टी निर्देशनमा उल्लेख छ । एमालेले काठमाडौंमा भएको नवौ महाधिवेशनदेखि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो । २०७८ मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनमा पनि उमेर हद राखिएको थियो। । अध्यक्ष केपी ओलीलाई फेरि अध्यक्ष बनाउने योजनासहित एमालेले उमेर हद हटाएको हो । निर्देशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरी नयाँ जिम्मेवारी तोकिएको छ । एमालेले अध्यक्ष ओलीदेखि, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरेको छ । माओवादीसँगको सत्ता गठबन्धनबाट बाहिरिएपछि संगठन बिस्तार र सुदृढिकरणमा लागेको एमालेले केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्यविभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गरेको हो ।। अपानिमा उपाध्यक्षहरूलाई ३३ विभागको समन्वयको जिम्मेवारी तोकिएको छ । त्यस्तै, सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया