आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने उपप्रधानमन्त्री सिंहको भनाइ

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने बताएका छन् । 

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिएका हुन् । उपप्रधानन्त्री सिंहले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए । 

उपप्रधानमन्त्री सिंहले राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसका लागि काम सुरु गरिसकेको पनि बताए । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको उनले बताए । 

मन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने जानकारी दिए । सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया