माओवादी प्रदेशस्तरीय परामर्श समिति बैठक आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ ।

गत साउन ३१ गते सम्पन्न भएको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो ।  सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधबार ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ । 

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू तथा प्रदेशका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ । बैठक बिहीबार सम्पन्न हुनेछ भने परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा असोज ३ गतेसम्म चल्ने बताइएको छ । 

बागमती प्रदेशको बैठकपछि उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा रहेका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने तय भएको छ । त्यसपछि गण्डकी प्रदेशको बैठक भदौ ९ र १० गते बस्नेछ । प्रदेश परामर्श समिति र मोर्चा कमिटीहरूको बैठक असोज ३ गतेसम्म सम्पन्न गर्ने माओवादीको लक्ष्य छ । 

बैठकमा आएका राय सुझाव सहितको विमर्शपछि केन्द्रीय समिति बैठक बोलाउने माओवादी केन्द्रको तयारी छ । 

प्रतिक्रिया