शिक्षामन्त्रीको त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छन् । 

केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन् । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताएकी छन् । 

केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । असुरक्षाका कारण देखाउँदै उपकुलपति, रेक्टर र रजिस्ट्रार अनुपस्थित भएका छन् । 

रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल शुक्रबारदेखि नै कार्यालय आएका छैनन् भने उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएकाले गत सातादेखि नै बिदामा छन । शुक्रबार शिक्षामन्त्रीलाई पत्राचार गर्दै विश्वविद्यालयले आवश्यक सुरक्षाको प्रबन्ध मिलाइदिनसमेत आग्रह गरेको थियो ।
 

प्रतिक्रिया