ललितपुरमा आज न्यकू जात्रा मनाइँदै

काठमाडौं । ललितपुरमा बुधबार न्यकू (श्रृंगभेरी) जात्रा मतयाः (दीपयात्रा)  मनाइँदैछ । जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक ठाँउहरुको परिक्रमा गरिने परम्परा छ  । 

यस पर्वमा विशेषत परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने गर्दछ । यात्रामा नौलो भेषभूषा एवम् शैलीमा हास्य ब्यङ्गात्मक प्रस्तुत गर्दै सहभागी हुने गर्दछन् ।  टोलटोलबाट बाजागाजासहित समूहहरुको सहभागिता पनि हुने गर्दछ । यो यात्रा करिव १५ घन्टाको हुनेछ । 

नकबहिलबाट  सुरु भएको मतयाः अन्र्तगत ललितपुरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्यर देवालयमा गई झण्डै २ हजार देवदेवतालाई परिक्रमा गर्ने गरिन्छ । जात्रा अन्तर्गत बिहीबार बिहान बुंगमतीमा नवबाजा बजाइनेछ भने शुक्रबार नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउन जाने गरिन्छ । 

शनिबार नकबहिलमै भेला भइ गणेशपूजा यात्रापछि पालो हस्तान्तरण हुनेछ ।  राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहा स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा यो मतयाः अर्थात दीपयात्रा परम्परा थालेको बताइन्छ । राजा सिद्धिनरसिंह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुरु बौद्ध बज्राचार्यसँग सल्लाह गरी १० वटा टोलले पालैपालो सञ्चालनको जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमा गराएको किंवदन्ती पनि छ ।

प्रतिक्रिया