बारा, पर्सा र कञ्चनपुरमा भारी वर्षा,उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल सात वटा प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै बाराको सिमरा विमानस्थलको जल मापन केन्द्रमा १ सय २८ मिलिमिटर वर्षा मापन भएको छ । पर्साको रंगपुर तण्डी बजारमा १ सय १७ दशमलव ८, कैलालीको धनगढीमा ९८ दशमलव ४, कञ्चनपुरको सुन्दरपुरमा ९८,  बाराको कोल्भीमा ९० दशमलव ४, कञ्चनपुरको हनुमान नगरमा ८४ दशमलव ४, लमजुङको बेसीशहरमा ६६ मिलिमिटर पानी परेको छ । 

यस्तै, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि पानी परेको छ । पछिल्लो ३ घण्टा पर्साको रङ्गापुर टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपास ठूलो वर्षा भएको र थप वर्षा हुन सक्ने भएकाले यो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

 

प्रतिक्रिया