आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्कासनको तयारी गरेको छ । पार्टी कार्यालय वनस्थलीमा बुधबार सुरु हुने केन्द्रीय समिति बैठकले ढकाललाई निस्कासन गर्ने निर्णय गर्न लागेको हो । 

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेकाविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ । असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो । 

केन्द्रीय समिति बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रमबारे पनि छलफल हुनेछ । त्यस्तै, संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन,  केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल र स्थानीय तह उपनिर्वाचन बारेपछि समीक्षा हुने बताइएको छ । 

संविधान दिवस, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्तिमा पनि छलफल हुने नेताहरुले बताएका छन् । 

प्रतिक्रिया