अमेरिकी विदेशमन्त्री ब्लिन्केन गाजा युद्धविराम वार्ताका लागि इजिप्टमा

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविराम वार्ताका लागि इजिप्ट पुगेका छन् । उनले इजिप्टको एल अलामिनमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग गाजामा युद्धविरामबारे छलफल गर्ने बताईएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार जाने कार्यक्रम छ । उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । कतारले इजिप्टसँग मिलेर दश महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ । 

दोहा वार्तामा अमेरिकाले इजरायल र हमासबीचको खाडल कम गर्न  राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको युद्धविरामको खाकामा हस्ताक्षर गर्न प्रस्ताव प्रस्तुत गरेको थियो । ब्लिन्केनले इजरायलले अमेरिकी प्रस्ताव स्वीकार गरेको र अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नराख्ने हमासको प्रतिक्रिया बुझ्न इजिप्ट र कतारसँग कुरा गर्ने बताएका छन् । 

हमासले पछिल्लो प्रस्तावमा गरिएको संशोधनलाई सार्वजनिक रूपमा अस्वीकार गरेका छ ।  इजरायल यसै साताको अन्त्यमा कायरोमा हुने बताएको नयाँ वार्तामा प्रतिनिधिमण्डल पठाउन तयार रहेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया