कमला नदीमा पुल निर्माणको माग गर्दै सामुहिक अनशन सुरु

काठमाडौं । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन सुरु गरेका छन् । 

कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाईमा आन्दोलित स्थानीयहरुले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशन बसेका हुन् । 

गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रक्रिया अगाडी बढाउन ७ दिने अल्टिमेटमसहित उनीहरुले ज्ञापन पत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि संघर्ष समितिका संयोजकसहित विभिन्न पालिकाका वडाध्यक्ष र युवा गरी १० जना आमरण अनसनमा बसेका हुन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कमला पुल निर्माणका लागि प्रदेश सरकार आफैँले पहिल गरिरहेको समयमा युवाहरु आमरण अनशनमा बस्नुको औचित्य नरहेको प्रतिक्रिया दिए । 

मुख्यमन्त्री सिंहले मधेस सरकारको गत साउन ३१ गते बसेको मन्त्रीपरिषद बैठकबाट हुलाकी राजमार्ग अन्तर्गत पर्ने नयाँ कमला पुल निर्माणका लागि माग गर्ने निर्णय समेत गरेको जानकारी दिए । उनले संघ सरकारले कमलामा पुल निर्माण नगरे प्रदेश सरकार आफैँ त्यहाँ बजेट छुट्याएर पुल निर्माण गर्न सक्छ कि सक्दैन भन्ने विषयमा समेत छलफल अगाडी बढाइएको बताए ।
 

प्रतिक्रिया