कोशीमा भेटियो लोपोन्मुख माछा
मोरङ । कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ ।
क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ ।
अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापा लगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गरे ।
पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ ।
अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताए । नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टेस सिकुलाहो । यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उनले बताए ।
खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ ।
रासस
प्रतिक्रिया