कैलालीमा पनि स्याउको व्यवसायिक खेति सुरु
तराईमा पनि स्याउ फल्ने भएपछि किसान उत्साहित
काठमाडौ । हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा पहिलो पटक व्यावसायिक स्याउको उत्पादन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एक कृषकले लटरम्म स्याउ फलाएका छन् ।
चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा गोकर्ण ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन् । तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन् । उनको बगैचामा स्याउको बोटमा अहिले लटरम्म स्याउ फलेका छन् । परीक्षणका लागि २० बोटमा मात्रै स्याउ फल्न दिइउको छ । यो स्याउको बोटको दुई वर्ष पुगेपछि मात्रै फल लाग्न दिनु राम्रो हुने कृषक ओलीको भनाइ छ ।
एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएर उनले खेती गरेको हुन् । यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुने गरेको कृषक ओलीले बताए । भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जावलगायत धेरै ठाउँमा स्याउखेती हुँदै आएको छ । ओलीले १ हजार दुई सय स्याउको बोट लगाएका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनको योजना छ ।
प्रतापपुरमा पहिलो पटक स्याउको बगैचा स्थापना भएको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जोखिम मोलेर तराईमा स्याउ खेती गर्दा त्यो सफल भएको प्रतिक्रिया दिए
भारतबाट बर्सेनी करोडौंको स्याउ भित्रिने गरेको भन्दै जोशीले तराईमा धेरै जग्गा भएका अरु किसानले पनि स्याउ खेतीबाट कृषकले राम्रो आर्थिक लाभ लिन सक्ने देखिएको छ ।
प्रतिक्रिया