ललितपुरको च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्नुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताएका छन् । 

मंगलवार मन्त्री दाहालले डुबानका विषयलाई लिएर एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै मन्त्री दाहालले सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाए । 

च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबानमा पर्दै आएको छ । खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खोलाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको बताए । ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नका लागि पुलमा समस्या देखिएको बताए । 

प्रमुख अधिकारीले पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गरेको बताए । उनले कार्यालयले चाँडै प्राविधिक अध्ययन गरेर कार्यान्वयन गर्ने पनि बताए । मर्मत गरी पानी सहज रुपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया