हमासले अपहरण गरेका  थप ६ जना इजरायलीको शव भेटियो

एजेन्सी । प्यालेस्टाइनको गाजा पट्टीबाट बन्धक बनाइएका ६ जनाको शव निकालिएको इजरायली सेनाले जनाएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा गाजा पट्टीको खान युनिस क्षेत्रबाट सोमबार ती शवहरु फेला परेको उल्लेख छ । उनीहरुमध्ये अझै एकजना जीवित रहेको अनुमान गरिएको थियो। तर ६ जनाकै शव भेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 

गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा प्यालेस्टिनी लडाकू समूह  हमासले एक्कासी गरेको आक्रमणका क्रममा  १२ सय इजरायलीको हत्या र २ सय जना भन्दा बढीलाई  जीवितै अपहरण गरिएको थियो । त्यपछि इजरायलले जवाफी आक्रमण शुरु गरेको थियो । इजरायली आक्रमणमा झण्डै ४० हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको  महास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  
गत नोभेम्बरमा दुइ पक्षबीच  भएको युद्धविराम सम्झौतामा हमासले एक हप्ता लामो युद्धविरामको बदलामा १०५ जना इजरायली बन्धकहरूलाई रिहा गरेको र इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले मुक्त गरेको थियो ।  इजरायलले भने १११ बन्धकहरू अझै पनि हमासले राखिरहेको र  जसमध्ये ४० जनाको मृत्यु भएको अनुमान गरेको छ।

हमासले अक्टोबर ७ मा आक्रमण गरेर इजरायली नागरिकसँगै नेपालका बीपीन जोशीलाई पनि बन्धक बनाएको थियो । उनको अवस्था के छ भनेर अझै पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया