विरोधकाबीच सुदूरपश्चिम निजामती सेवा ऐन बहुमतले पारित

काठमाडौं । सुदूरपश्चिम निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा बहुमतले पारित भएको छ ।

 राना थारु समुदायको विरोधकाबीच म‌गलबार बसेको प्रदेश सभा बैठकले विधेयक बहुमतले पारित गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले विधेयक समावेशीताको सिद्धान्तविपरीत आएको भन्दै विरोध गरेका थिए ।

 सो क्रममा माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल  नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत भएको बताएका हुन् । नाउपाका चौधरीले राना थारु समुदायको जनसंख्याको अनुपातमा प्रतिनिधित्व कम गराउने गरी विधेयक संशोधन गरिएकोमा आपत्ति जनाएका हुन् । 

कुनै छलफल नगरी हतारहतार विधेयक संशोधन गरिएकोमा पार्टीले असन्तुष्टि जनाएको छ । नेकपा एमाले र कांग्रेसका सांसदहरूले विधेयकमा समर्थन गरेका छन् । थारु/रानाथारु समुदायको समावेशी कोटा जनसङ्ख्याको अनुपातमा निर्धारण हुनुपर्ने मागसहित सडक र सदनमा विरोध भएको थियो । 

दुवै समुदायका व्यक्तिले प्रदेश सभाको मूल गेटमै धर्ना दिएर विरोध जनाएका थिए । धर्नामा उपस्थित भएर मुख्यमन्त्री कमलबहादुर शाहले संविधानमा व्यवस्था भए बमोजिम थारु रानाथारु समुदायको जायज मागलाई सम्बोधन गर्ने आवश्वसन दिएका  छन्। उनले सदनबाट विधेयक पास भइसकेपछि दुवै समुदायको सल्लाहमै समिति गठन गरेर संशोधन प्रक्रियामार्फत सबै कुराको टुङ्गो लगाइने उल्लेख गरेका हुन् । 

प्रतिक्रिया