अभिनेत्री अरुणीमा लम्सालले गरिन् कांग्रेस नेतासँग विवाह

काठमाडौं । अभिनेत्री अरुणीमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग दोस्रो विवाह गरेकी छन् । उनले सोमबार बत्तीसपुतलीमा रहेको राम मन्दिरमा धरान निवासी युवराजसँग  लगनगाँठो कसेकी हुन् । 

उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको बताइएको छ । अरुणीमा बिहेकै लागि केही  समयअघि अमेरिकाबाट आमाको साथमा नेपाल आएकी थिइन् । युवराजसँग उनको मागी विवाह भएको बताइएको छ । 

करिब एक दशकदेखि अमेरिकामा बस्दै आइरहेकी अरुणीमाको पहिलो विवाह अमित अर्यालसँग भएको थियो । उनीहरुले २०७४ सालमा १२ वर्ष लामो वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । उनीहरुबाट एक छोरी  छिन् । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० भन्दा बढी फिल्ममा काम गरेकी उनले १० वर्षपछि अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् । 

युवराज वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी वराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । 

प्रतिक्रिया