भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ओली भ्रष्टाचारीको अनुहार हेर्दिन भन्दै छन्: वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अनेक  भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गरेका छन् । 

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरु हाँस्ने गरेको पुनले टिप्पणी गरेका हुन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिनँ भन्नुभएको छैन।’ पुनले भने । 

आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए।

उनले भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्यासित रुपमा कांग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे।

 ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौं। हामीलाई लागेको थियो उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होलान्। तर उनीहरू भ्रष्टचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन्। हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौं। खबरदारी गर्छौं,’ पुनले भने।

उनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए।

 
‘ 

प्रतिक्रिया