भारतमा बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूको प्रदर्शन जारी

सर्वोच्चको सुनुवाइ आज

एजेन्सी । भारत पश्चिम बंगालको कोलकातास्थित सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलमा एक महिला चिकित्सकको बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन जारी राखेका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा शनिबारदेखि आन्दोलनमा उत्रिएका चिकित्सक काममा फर्किएका छैनन् । प्रदर्शनकारीहरुले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । सोमबार पनि हजारौँ चिकित्सकहरूले इमर्जेन्सीबाहेकका बिरामीको जाँच गरेनन् भने धर्ना जारी राखे । 

प्रदर्शन मंगलबार पनि जारी रहने बताइएको छ । घटनाको विरोधमा भारतका विभिन्न शहरमा प्रदर्शन जारी छ भने कोलकातामा कानून व्यवसायीले पनि प्रदर्शन गरेका छन् । यही अगस्ट ९ गते सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो ।  सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिए पनि अहिलेसम्म सोही अस्पतालमा खटिएका सञ्जय राय नाम गरेको एक स्वयंसेवक प्रहरीलाई मात्रै गिरफ्तार गरेको छ । 

यता सर्वोच्च अदालतले सो घटनाको स्वतः संज्ञान लिएको छ भने प्रधानन्यायाधीश डीवाई चन्द्रचुड नेतृत्वको तीन सदस्यीय इजलासले यस विषयमा मंगलबार सुनुवाइ गर्दैछ । सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ ।

यसैबीच पीडितको शव परीक्षण रिपोर्टमा चरम यातना र निसास्सिएर उनको मृत्यु भएको उल्लेख गरिएको बताइएको छ । बलात्कारपछि घाँटी अँठ्याएर उनको हत्या गरिएको आंशका गरिएको छ । रिपोर्टमा उनको टाउको, गाला, ओठ, नाक ,देब्रे हात, देब्रे काँध, घुँडा, गुप्ताङ्गलगायत थुप्रै अङ्गमा चोट लागेको उल्लेख छ । यसैगरी फोक्सोमा रक्तस्राव भएको र शरीरका अन्य भागमा रगत जमेको पाइएको समाचारमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया