सामूहिक भक्तिगान गर्दै मिथिलामा झुला पर्व सम्पन्न
महोत्तरी । साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला अर्थात कोक्रा, एकप्रकारको कलात्मक पिङमा हल्लाउनु नै यस पर्वको मुख्य विधि हो ।
झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन् । साउन शुक्लपक्ष लाग्नुअघि मुख्यबाली धान रोपाइँ सकेका किसान तथा अन्य पेशाका सर्वसाधारण आफ्नो बस्ती नजिकका मठमन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउदै नाच्छन् ।
झुलाउत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । साउन पूर्णिमाको मध्यरातमा झुला झुलाइने रेशमको डोरी छिनाएर यो पर्व सम्पन्न गरिन्छ । मिथिलामा यो पर्व राम जन्मभूमि अवध अर्थात अयोध्या र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रशन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन यो पर्व मनाउन थालिएको हो ।
प्रतिक्रिया