भारतमा डाक्टरको प्रदर्शन जारी

एजेन्सी । भारतको कोलकत्ताको आरजी कर मेडिकल कलेजमा एक महिला डाक्टरको बलात्कार र हत्याको विरोधमा चिकित्सकहरुले दश दिनदेखि प्रदर्शन गरिरहेका छन् । 

ती महिला प्रशिक्षार्थी डाक्टरको यही अगस्ट ९ तारिकमा सञ्जय रोय नाम गरेका ब्यक्तिले बलात्कारपछि हत्या गरेका थिए । रोय भारतको नागरिक स्वयंसेवकसँग सम्बन्धित ब्यक्ति रहेको खुलेको छ ।  अस्पतालको सेमिनार हलभित्र बलात्कारपछि हत्या गरिएकी ती डाक्टरको घाँटी थिचेर हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । शव परीक्षणमा यौन दुव्र्यवहारको प्रमाण पनि फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् । इन्डियन एक्सप्रेसका अनुसार मृतकको हातले घाँटी थिचेर हत्या गरिएको थियो ।

रोय भारतीय प्रहरीको स्वयंसेवक रहँदा उक्त अस्पतालमा आवत जावत गर्न उसलाई रोकतोक थिएन । त्यसैको फाइदा उठाएर रोयले अस्पतालको सेमिनार हलमा प्रवेश गरेर रातको समयमा ३६ घण्टा ड्यूटी गरेर आराम गरिरहेको मौका छोपेर ती डाक्टरलाई बलात्कार पछि हत्या गरेका थिए । ती डाक्टरको शव सेमिनार हल नजिकै विभत्स अवस्थामा भेटिएको थियो । 

ती डाक्टरको शरीरमा गाला, ओठ, नाक, घाँटी, पाखुरा र घुँडामा चोटसहित १६ वटा बाहिरी चोट पटक लागेको प्रतिवेदनमा उल्लेख छ । उनको नौ वटा भित्री चोटपटक पनि फेला परेका छन् । उनको गुप्ताङ्गमा पनि चोट लागेको समाचारमा जनाइएको छ । सबै चोटहरू मृत्यु अघिनै लागेका र उनले नीज बलात्कारीसँग निकैबेर संघर्ष गर्नुपरेको हुन सक्ने समाचारमा उल्लेख छ । डाक्टहरुले संघीय कानुनको माग गरेका छन् । 

प्रतिक्रिया