भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत किन्ने
काठमाडौ । अन्तरदेशीय व्यापारका क्रममा भारतले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौता मार्फत विद्युत भारत निर्यात गर्ने भएको छ । योसँगै नेपालवाट १६ वटा परियोजनाबाट ६ सय ९० मेगावाट विद्युत भारत लैजान स्वीकृत भएको छ । यसअघि नै भारतले २८ वटा परियोजनाबाट ९ सय ४१ मेगावाट विद्युत लैजाने सहमति गरिसकेको छ । २ सय ५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १६ अर्ब ९३ करो रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको हो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।
प्रतिक्रिया