नक्कली शरणार्थी मुद्दामा आज पनि थुनछेक बहस जारी रहने

एक सातापछि मात्रै थुनामा पठाउने कि नपठाउने निर्णय हुने

bhutaneserefugeescam

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतका अदालतमा उपस्थित गराएर सरकारी वकिलहरुले थुन छेक बहस गरेका हुन । जाहेरीकर्ता तथा पीडितको तर्फबाट बहस गर्नका लागि सरकारी वकिलहरुलाई न्यायाधीश न्यौपानेले तीन दिनको समय दिएका छन । प्रतिवादी तथा पक्राउ परेका १८ अभियुक्तहरुको तर्फबाट बहस गर्नका लागि छ दिन समय दिइएको छ । सो थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र सो पछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिईने छ । थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ । अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्ने छन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ । जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान भने पाउनेछन । माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्टाउनपनि सक्नेछ । यसअघि पक्राउ परेका अभियुक्तहरुको एक साता लगाएर न्यायाधीश न्यौपानेले बयान गराएका थिए । पक्राउ परेकाहरु अधिकांशले आफूमाथिको आरोप भने अस्वीकार गरेका छन ।

प्रतिक्रिया