टिआरसी विधेयक राष्ट्रिय सभामा छलफलका लागि पेश

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,(टिआरसी) २०७९ राष्ट्रिय सभामा छलफलका लागि पेश भएको छ । 

आइतवार बसेको सभाको बैठकले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस” भन्ने प्रस्तावलाई छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको हो । सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले छलफल  गरेका थिए । छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।  

त्यस लगत्तै सभामा राष्ट्रिय सभाका  अध्यक्ष नारायणप्रसाद दाहालले सो विधेयक छलफलका लागि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए । सो विधेयक प्रतिनिधि सभाबाट भने यस अघि नै पारित भइसकेको छ । 

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरुले  राष्ट्रिय सभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न पनि राष्ट्रिय सभा अध्यक्ष दाहालले आग्रह गरेका छन् ।  
 

प्रतिक्रिया