किन पुग्छन् तीर्थालु पार्वती कुण्ड ?

रसुवा । जनैपूर्णिमाको दिन रसुवाको गोसाईंकुण्ड, पार्वती कुण्ड लगायत  अन्य कुण्डहरूमा  मेला लाग्ने गर्दछ ।

महादेवलाई आराधना गर्नेहरूका लागि गोसाईं कुण्ड पुगे जस्तै पार्वतीका भक्तहरू जनैपूर्णिमाको अवसरमा पार्वतीकुण्डमा मेला भर्ने गर्छन् । रसुवाको चर्चित तामाङ बस्ती गत्लाङबाट करिब एक घण्टाको दुरीमा  पार्वतीकुण्ड रहेको छ ।  यो कुण्ड स्वदेशी मात्र होइन, विदेशी पर्यटकका लागिसमेत आकर्षण बन्दै आएको छ । 
पौराणिक कथा अनुसार भगवान् शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजीमा गोसाईंकुण्ड पुगेको उल्लेख छ । त्यही शिवको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्डमा पुगिन् । उनले कुण्डमा स्नान गरेको स्थानीय किंवदन्ती छ । पार्वती कुण्डमा पुगे आत्मैदेखि सोचेर मागेको बर पूरा हुने विश्वास यहाँ पुग्ने तीर्थालुहरुमा रहेको छ ।

यसपटकको जनैपूर्णिमा भोलि परेको छ । जनै पूर्णिमामा मेला भर्न तीर्थालुहरु आउनेक्रम जारी छ । गोसाईंकुण्ड, पार्वती कुण्ड लगायतमा मेला भर्नेहरुका लागि सम्पूर्ण तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।  
 

प्रतिक्रिया