गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
लुम्बिनीमा पनि कांग्रेसका डिल्ली चौधरीद्वारा दाबी पेश
काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत जुटाएका पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेले भोलि सपथ लिने बताइएको छ । कांग्रेसका २७, माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्नेमा पाण्डेले ३५ सांसदको समर्थन जुटाएका हुन् । गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व लिएका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीले चैत १० गते समर्थन फिर्तालिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । अधिकारीले वैशाख ९ गते विश्वासको मत गुमाएका थिए । उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले उपधारा २ बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।
प्रतिक्रिया