यसरी गर्न सकिन्छ  गाई बस्तुको  लम्पी स्किन रोगको घरेलु उपचार

डा. नारायण घिमिरे

नेपालमा गाई बस्तुमा अत्यधिक सङ्क्रामक ठानिएको लम्पी स्किन (Lumpy skin disease) भनिने छालाको रोग (एलएसडी LSD) को  प्रकोपले गाई वस्तु सोतर बनिरहेको वेला कोरोना जस्तो सङ्क्रमणमा बोल्ने नेपालका आयुर्वेद विज्ञहरू संवेदनशील क्याप्रिपोक्सभाइरस (Capripoxvirus) भाइरसको रोगको फैलावट रोक्न धेरै परम्परागत विधिहरू बारे नबोल्नु र आफ्नो ज्ञान समाजमा नबाँड्नु दुर्भाग्यपूर्ण छ। एलएसडी जस्ता भाइरसको सङ्क्रामकमा अहिलेसम्म कुनै  प्रभावकारी भेटनरी उपचार नरहेतापनि यस्तो सङ्क्रमणमा हामीले धेरै परम्परागत औषधिहरू प्रयोग गरी गौमाताको सेवा गर्ने गरिएकै हो। 

आयुर्वेदिक भेटनरी औषधि (Ayurvedic Veterinary Medicine-AVM) को अनुभव अनुरूप लम्पी स्किन भएको वेला गौ मातालाई १० वटा पानको पात, १० ग्राम कालो मरीच, १० ग्राम नुन लाई खुदोको सख्खर मिसाएर खुवाउने गर्दा गौमाताले राहतको महसुस गर्ने गर्दछ। उल्लेखित मिश्रण लाई राम्रो संग मिसाएर चाहेजति खुदोको सख्खर मिसाएर खुवाउने क्रममा पहिलो दिन प्रत्येक तीन घण्टामा एक खुराक दिने गरिन्छ। दोस्रो दिन देखि दोस्रो हप्ता सम्म, हरेक दिन तीन खुराक दिने गरिन्छ। 

यसको साथै १ मुठ्ठी मेथीको पात, १० लसुन पोटी, १ मुठ्ठी नीमको पात, १ मुठ्ठी मेहदीको पात, २० ग्राम बेसारको धुलो, १ मुठ्ठी तुलसीको पात ग्राईन्डरले पिनेर धुलो बनाएर त्यसमा ५०० एमएल (मिलि लीटर) तिलको तेल वा नरिवलको तेल हालेर उमाली सेलाउन दिने। यसरी सेलाएको मेडिकेटेड तेलले एलएसडी प्रभावित गाईबस्तुको सफा गरिएको छालाको घाउमा लेपन लगाउने गरिन्छ। कतिपय अवस्थामा सफा गरिएको हरियो धनियाँको सिधै वा ५०० एमएल तिलको तेल वा नरिवल तेल हालेर पेस्ट बनाएर घाउमा लेपन गर्ने गरिन्छ।

उल्लेखित उपचार विधि गाइको आफ्नै रोग प्रतिरोधी क्षमता बढाउन र सङ्क्रमणको वेला जरुरी हुने पोषण समेत उपलब्ध गर्न उपयोगी हुने हुँदा त्यो समयमा सङ्क्रमित गाई बस्तुलाई छुट्टै आइसोलेसनमा राख्न पर्दछ। तुलसीको पात, सुपारीको पात, निमको पात, लसुनको पोटी, कालो मरीच, जाइफल, जाइपत्री, धानिया, बेसारको धुलो, हिमाली नुन आदिलाई खुदोको सख्खर संग मिसाएर खान दिँदा सुरुको तीन दिन रोगको सङ्क्रमणको हद उपचार गरी घटाउन र दशदेखि पन्ध्र दिन शरीरको तागत निर्माण गर्न र पुरा रूपमा सन्चो हुन सहयोग गर्दछ।

बेसार, निमको पत्ता, मेहदी, फिटकीरी पानीमा उमालेर बनाएको गाडा झोल एलएसडी सङ्क्रमित छालाको उपचारमा निकै प्रभावकारी हुने गर्दछ। त्यसैले उक्त घोलको लेपन दिनको २ पटक लगाउने गरिन्छ। त्यस्तै गाई बाँधेको गोठ वरपर निम, हेनाको पात, सुगन्धवाल, मूर सुगन्धित गम रेजिन, कपुर आदि बालेर त्यसको धुवाले वरपरको वातावरण भाइरस मुक्त बनाउन प्रयोग गरिन्छ।

बरावर मात्रामा गुगलू, गाइको घ्यु, पहेँलो तोरी वा सस्र्यूँ, बोझो, चिराइतो, हर्रो, जौ, नीम आदि मिसाएर हवन सामग्री बनाएर बिहान बेलुकी गौशालामा आगोमा हवन गरी गौशालालाई भाइरस मुक्त गर्ने गरिन्छ।  बरावर मात्रामा गुगलू, कपुर र नीम पत्ता धुपौरोमा बालेर गोठलाई सबैतिर धूप गरेर समेत धेरै हदमा गोठको वातावरण सफा गर्न सकिन्छ।

औषधीय वनस्पतिहरूमा भेटिने रोग निवारक तथा रोगको रोगाणु प्रतिरोधी सक्रिय यौगिकहरूलाई रोगहरूको उपचारको रूपमा प्रयोग गर्ने अभ्यास लाई आयुर्वेदिक एथनो मेडिसिन आयुर्वेदिक  (Ethno Veterinary Ayurvedic Treatment) उपचार प्रयास भन्ने गरिन्छ। लम्पी स्किन जस्तो भाइरसको सङ्क्रमणले दिने चर्म रोगको चर्चित आयुर्वेदिक एथनो मेडिसिनको विधिवत प्रभावकारी उपचारको रूपमा तलका विधिहरू अपनाउने गरेको देखिन्छ।

सङ्क्रमणको पहिलो तीन दिनको लागि ओरल उपचारको लागि सामग्रीको मात्रा सुपारी १० वटा, कालो मरीच १० वटा, हिमाली नुन १०  ग्राम, सख्खर आवश्यक मात्रामा हाली बनाउने मिश्रण उपयुक्त मानिन्छ। जसमा सख्खर बाहेकका सामग्रीहरू मिसाएर राम्ररी पिनिन्छ। त्यसपछि सख्खर सँग मिलाएर पेस्ट बनाउने गरिन्छ। पहिलो तीन दिन हरेक ३ घण्टामा जनावरलाई उक्त पेस्ट खुवाउने गरिन्छ।

सङ्क्रमणको ३ देखि १४ दिनसम्म ओरल उपचारको लागि धेरै प्रभावकारी दबाइमा फरक फर्मुलेसन उपयुक्त ठानिन्छ। जसमा लसुन २ पोटी , धनियाँको पात १५  ग्राम, जिरा १५ ग्राम, कृष्ण तुलसी १ मुठी, ल्वाङ वा टिम्मुर १५ ग्राम, कालो मरीच १५ ग्राम, सुपारीको पात ५ वटा, हरियो प्याज २ बोट, बेसार पाउडर १० ग्राम, नीम एक मुट्ठी पिनेर बनेको धुलो जरुरत अनुरूप खुदो वा सख्खरमा मिसाएर खुवाउने गरिन्छ।

फुटेर घाउ बनेको छालाको लगाउने मलमको रूपको सामयिक उपचार अन्तर्गत एक मुठी मुक्त वर्षी झार (Acalypha indica ), लसुनको पोटी १० वटा, एक मुठी नीमको पात , एक मुठी कृष्ण तुलसी, बेसारको धुलो पाउडर १० ग्राम, एकमुठी हेना मेदीको पात पिनेर बनेको धुलो ५०० एमएल नरिवल वा तिलको तेलसँग मिसाउने र उमाल्ने।  सेलाएर बनेको लेपन सफा गरिएको घाउमा लेपन गर्ने गरिन्छ।

मुलुकभित्र किसानका ३१०० गाई र २७० भैँसी लम्पी स्किनको रोगले  ग्रसित बनिरहेको र अहिलेसम्म ८४ वटा भन्दा धरै गाई मरिसकेको सन्दर्भमा हाम्रो स्थानीयतामै भेटिने औषधीय जडीबुटी प्रयोग गरी स्थानीयतामा हाल देखिएको गाई बस्तुको सङ्क्रमणको प्रभावकारी र सुरक्षित उपचार हुने परम्परागत उपचार पद्धतिको ओखती बनाउने तरिका सम्बन्धित सरोकार वाला पक्षवाट आउनु पर्ने थियो आएन।
 
किसानलाई दुख्दा यहाँ नत सरकारलाई दुख्छ न त जनताको हुँ भन्ने नयाँ भनिएका नव औतारी क्लब रुपी दलको चिन्ताको विषय नै बन्छ। त्यही समस्याबिच किसानहरू आफैले तयार गरी पशुलाई खुवाउने औषधि  तथा लगाउने मलम मार्फत उपचार गर्न सम्भव हुने यो उपाय गाई वस्तुमा देखिएको सङ्क्रामक एलएसडी लगायतका छालाको रोगसँग लड्न सहयोग गर्ने देखिएकोले यहाँ प्रस्तुत गरिएको हो।
 

प्रतिक्रिया