आयुर्वेद सेवामा आकर्षण बढ्दै

तनहुँ ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले एक वर्षमा २६ हजार छ सय ८४ सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा उक्त सङ्ख्यामा सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । 

आयुर्वेद सेवाप्रति जिल्लामा सर्वसाधारणको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिए । कार्यालयले आव २०७९÷८० मा भन्दा गत आवमा सात हजार चार सय ६७ बढीले सेवा लिएको कार्यालयका आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताए ।

बहिरङ्ग ओपिडी नौ हजार दुई सय ७१, ज्येष्ठ नागरिक सेवा एक हजार छ सय २४, योग आठ हजार तीन सय ४३, पञ्चकर्म तथा पूर्वकर्म पाँच हजार पाँच सय १३, स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवद्र्धक सेवा दुई सय ८१, क्षार सूत्र १७, प्रयोगशाला सात सय ६३ र फिजियोथेरापी आठ सय ७२ जनाले लिएको उनले जानकारी दिए  ।  

जिल्लाका चार ठाउँमा नागरिक आरोग्य केन्द्र विस्तार भएको छ । डा. श्रेष्ठका अनुसार बन्दीपुर गाउँपालिका–१ मा डुम्रे, घिरिङ गाउँपालिका–५ मा घिरिङ, देवघाट गाउँपालिका–५ मा देवघाट र आँबुखैरेनी गाउँपालिका–१ मा आँबुखैरेनी नागरिक आरोग्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । 

जिल्लाका तीन पालिकामा अझै पनि आयुर्वेद स्वास्थ्य सेवा पु¥याउन नसकिएको उनले भने । “दश पालिकामध्ये देवघाट, आँबुखैरेनी र घिरिङ गाउँपालिकामा आयुर्वेद स्वास्थ्य संस्था पुगेको छैन । ती पालिकामा नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याएको” उनले भने ।  

केन्द्रले पतञ्जली योग समितिसँग समन्वयगरी कार्यालयको योगहलमा स्वस्थ जीवन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाका स्थानीय तह तथा सरोकार भएकासँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणालीको प्रवर्द्धन गरिरहेको डा श्रेष्ठले बताए । 

कार्यालयका लागि सात जनाको स्वीकृत दरबन्दी रहेकामा हाल पाँच जना कार्यरत छन् । उहाँको भनाई अनुसार केन्द्रमा ढाड दुख्ने समस्या भएका बिरामीलाई लक्षितगरी थेरापी मेसिन सञ्चालनमा ल्याएको बताए। 

गण्डकी प्रदेश सरकारको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि ढाड दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको केन्द्रका डा श्रेष्ठले  बताए । 

“आयुर्वेद उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्रका साथै रोग अनुसार दैनिक योग पनि सञ्चालनमा ल्याएको बताए ।आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जाँगरमा वृद्धि हुँदै गएको बताए ।

विसं २०५२ मा स्थापित आयुर्वेद स्वास्थ्य केन्द्रले रोग निदानात्मक, उपचारात्मक, स्वास्थ्य प्रवर्द्धनात्मक, रोग रोकथाम र स्वास्थ्य परामर्शका कार्यक्रम सञ्चालनमा  ल्याएको छ । 

प्रदेश निर्देशनालयले आयुर्वेद संस्थाको अनुसन्धानगरी दरबन्दी थप गर्नुपर्ने, चारपाङ्ग्रे सवारीसाधनको व्यवस्था गर्नुपर्ने, औषधि खरिद गर्न बजेट वृद्धि गर्नुपर्नेमा डा. श्रेष्ठले जोड दिए । 

रासस
 

प्रतिक्रिया