गाउँमै मालपोत कार्यालय आएपछि गौशालाका स्थानीय खुशी
महोत्तरी । आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् ।
राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत गरेको बताए ।
“गाउँमै सिंहदरबार आएजस्तो भएको छ, जग्गा किनबेच, ऋण लिँदा गर्नपर्ने दृष्टिबन्धक र रोक्कासहितका काम अब घरकै खाना खाएर गर्न भ्याउने भइएको छ”, गौशाला–४ रजखोरका रिझन साहले भने, “यसले निकै राहत भएको छ ।” गौशालामा २०७८ साल वैशाखमा स्थापना भएको मालपोत कार्यालयले तीन वर्षपछि बल्ल गत सोमबारदेखि सेवा दिन थालेको हो ।
मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा, मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन् ।
भर्खरै सेवा सञ्चालन गरेको मालपोत कार्यालयले जनताका काम पनि शीघ्र सम्पादन गर्दा सर्वसाधारण मक्ख भएका छन् । कर्मचारीले कानुनी अड्चन देखाउँदै ‘भोलि आउनू’ प्रवृत्ति परित्याग गर्दा आफूहरूलाई वास्तवमा नै गाउँमा सिंहदरबार आएको अनुभव भएको सोनमाको मगरथानाका रामविवेक रायले बताए ।
विसं २०७८ वैशाख १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले गौशालामा मालपोत तथा नापी कार्यालय उद्घाटन गरेपनि कार्यालय सम्बन्धी कागजात जलेश्वरका लेखापढी व्यवसायीले ल्याउन नदिएपछि सेवा सञ्चालन हुनसकेको थिएन । गौशालाका उद्यमी, व्यापारी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले साउन २१ गते राति प्रहरी प्रशासनको सहयोगमा कार्यालय सम्बद्ध कागजात र अभिलेख जलेश्वर कार्यालयबाट ल्याइएपछि यहाँ सेवा सञ्चालनको वातावरण बनेको हो ।
गौशालामा कार्यालयसम्बद्ध मठस्रेस्तासहितका कागजात र अभिलेख ल्याइएको एक साताभित्रै मालपोत कार्यालयले सेवा दिन थालेको हो । “हामीलाई कार्यालयमा कागजात व्यवस्थित गर्न एक साता लाग्यो, अब सेवा दिन थालियो”, कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले बताए ।
प्रतिक्रिया