ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू ढोरपाटन घुम्न आउने क्रम बढेको हो । 

विसं २०८१ को साउनमा ५ सय ८१ जना नेपाली पर्यटकहरूले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । “आर्थिक वर्ष २०७९-०८० को तुलनामा आर्थिक वर्ष २०८०-०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,” उनले भने, “२०७९-०८० मा पर्यटक प्रवेश शुल्कबाट ९ लाख ८३ हजार २ सय राजस्व सङ्कलन भएकोमा २०८०-०८१ मा रु १९ लाख ३३ हजार ७ सय पुगेको छ ।”

आर्थिक वर्ष २०७९-८० मा ७ हजार ६ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०-८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका ४, अन्य देशका १ सय २ र १५ हजार ४ सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८-७९ मा ९ हजार ९ सय १९, २०७७-०७८ मा ६ हजार ७ सय ३ र २०७६-०७७ मा ३ सय २० जनाले ढोरपाटन घुमेका थिए । 

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजारका दरले शुल्क तिर्नुपर्छ । 

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक ३ सय जना बास बस्न सक्ने क्षमता छ । 

सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०-०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट ४ करोड २६ लाख ८८ हजार ७ सय  राजस्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०७९-८० मा १९ नाउर र ११ झारल, २०७८-७९ मा १७ नाउर र ८ झारल, २०७७-७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनले बताए । बसन्त र सरद याममा सिकारी आउँछन् । 

यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १ सय ३७ प्रजातिका पक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । 

विसं २०६७-६८ देखि हालसम्म ३ सय ९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा १ हजार २ सय ९० नाउर भेटिएका थिए । १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।
 रासस

प्रतिक्रिया