पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध
गुल्मी । शनिबार रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौंसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् ।
सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
रासस
प्रतिक्रिया